‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक गर्दै विश्व शान्तिका लागि संगीत महाअभियान सुरु

फिल्मी फण्डा । संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको सशक्त माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा सुरु गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको सहकार्यमा आयोजित कार्यक्रममा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गर्दै अभियानको शुभारम्भ गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइराला ले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ र नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल ले पनि अभियानको प्रशंसा गर्दै यस्ता सिर्जनाले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरे।

गीतमा मनमाया पंगेनी भट्टराई र कमल सौराग को स्वर रहेको छ भने शब्द र संगीत स्वयं मनमायाकै रहेको छ। गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन्।

कार्यक्रम संयोजक तथा एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायत ले ‘दृश्यमा नेपाल’ अभियानको सफलतापछि त्यसकै निरन्तरतास्वरूप संगीतमार्फत विश्व शान्तिको सन्देश फैलाउने लक्ष्यका साथ नयाँ अभियान सुरु गरिएको बताए। एभरेस्ट ग्यालरीका निर्देशक तथा गीतकार डीबी खड्का ले ‘लैजाचरी–शान्तिको धुन’ केवल एउटा गीत नभई विश्वभर शान्ति, मानवता र सकारात्मक चेतनाको सन्देश फैलाउने दीर्घकालीन अभियानको सुरुआत भएको बताए।

कार्यक्रममा विभिन्न सरकारी निकायका उच्चपदस्थ व्यक्तित्व, साहित्यकार, गीतकार, कलाकार तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार यो अभियानले संगीतलाई विश्व शान्तिको साझा भाषाका रूपमा स्थापित गर्दै समाजमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech