स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना

फिल्मी फण्डा । चलचित्र पत्रकार संघ नेपाल ले आफ्ना निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौला को निधनको १३औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। कार्यक्रममा उहाँको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले श्रद्धासुमन अर्पण गरे।

dinesh 1.jpg

संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसी उपस्थित थिए। अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्दै हरेक वर्ष माघ १८ गते स्व. सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिने र संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिने जानकारी दिए।

प्रमुख अतिथि डिसीले स्व. सिटौलाको नेपाली चलचित्र उद्योग तथा चलचित्र पत्रकारितामा रहेको योगदान स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गरे। उनले बोर्डका तर्फबाट कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरे।

त्यसैगरी नेपाल चलचित्र कलाकार संघ का अध्यक्ष मोहन निरौला ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व. सिटौलाको योगदानको चर्चा गरे। उनले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग प्रदान गरे।

कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा र रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिटौलाको योगदानको स्मरण गरे। कार्यक्रमको सञ्चालन महासचिव रघुनाथ सापकोटाले गरेका थिए भने समापन उपाध्यक्ष कुवेर गिरीले गरेका थिए।

Dinesh 2.jpg

स्थापित अक्षय कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ। ओएसआर डिजिटल ले ३१ हजार रुपैयाँ, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार रुपैयाँ, निर्माता सरोज वली र मोहितवंश आचार्यले २५ हजार रुपैयाँ, षट्कोण आट्र्सले २५ हजार रुपैयाँ, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले ११ हजार रुपैयाँ तथा चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन्। यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट ३ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ।

यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको सूची संघले क्रमशः औपचारिक रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech