दुबईमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्न चलचित्र विकास बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता

तीन दर्जन कलाकार सहभागी हुँदै

फिल्मी फण्डा । चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता भएको छ । पौष १४ गते, बिहीवार बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको ब्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिईओ बाशुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो ।

Nepali Cinema Fest 1.jpg

संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १-३ गते)सम्म यो कार्यक्रमको आयोजना हुँदैछ । सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शिर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो । यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तराष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।

तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतीहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मीङ् डेष्टिनेशन अफ नेपाल’ परियोजना अन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कुटनितिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाईटल गरी प्रदर्शन हुनेछ ।

पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आँफैमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कलासंस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका निभाउने उल्लेख गरे ।

नेपालबाट नजिक भएको र लागत पनि सस्तो पर्ने भएकोले दुबईलाई कार्यक्रम आयोजनास्थल रोजेको केसीले बताए । बोर्डसँग यूएईपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने योजनाहरु रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech