‘परान’ फिल्मको टिजर सार्वजनिक: निर शाहको जन्मदिनमा बाबु-छोराको भावनात्मक कथा

फिल्मी फण्डा। आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ ले पोएटिक टिजर सार्वजनिक गरेको छ। वरिष्ठ अभिनेता निर शाह को जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस टिजरमा कवि नवराज पराजुली को शब्द र स्वर सुन्न सकिन्छ।

कवि पराजुलीको मार्मिक कवितामा फिल्मका प्रमुख कलाकार निर शाहको मनोभावना प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल को युट्युब च्यानलबाट सार्वजनिक टिजरमा एउटा बाबुले आफ्नो छोरासँग जीवनको अन्तिम समयसम्म साथ चाहने आशा व्यक्त गरेको देखाइएको छ।

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै, जसरी एउटा बाबुले छोरालाई हुर्काउँछ, त्यसरी नै छोराले पनि बुढेसकालमा बाबुलाई साथ दिनुपर्ने भाव व्यक्त भएको छ। पराजुलीले यो गहिरो भावनालाई निम्न पङ्क्तिमा उतारेका छन्:

“जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन,
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन,
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए,
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।”

टिजरमा यी शब्दहरू निर शाहमार्फत प्रस्तुत गरिएको छ, जसले फिल्मको केन्द्रीय कथावस्तुमाथि प्रकाश पार्छ। टिजरमा उनीसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द र अन्जना बराइली लगायतका कलाकारहरूलाई पनि प्रस्तुत गरिएको छ। यस पोएटिक टिजरले दर्शकहरूलाई फिल्मको मुख्य विषयवस्तुबारे जानकारी दिएको छ।

टिजर हेर्दा ‘परान’ फिल्मले बाबु-छोराको सम्बन्ध, सामाजिक हैसियत र परिस्थितिले ती सम्बन्धमा ल्याउने उतारचढावको कथा प्रस्तुत गर्ने देखिन्छ। यसबाट यो फिल्म एक उत्कृष्ट पारिवारिक खुराक बन्ने स्पष्ट संकेत मिलेको छ। अनुभवी कलाकारहरूको अभिनय र यस्तो भावनात्मक कथावस्तुका कारण यो फिल्म पारिवारिक दर्शकका लागि विशेष हुने सहजै अनुमान गर्न सकिन्छ।

सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को डेब्यु निर्देशन रहेको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारको अभिनय छ।

रिदम कँडेल को संगीत रहेको फिल्मका गीतहरूमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल ले स्वर दिएका छन्। शिवराम श्रेष्ठ को छायांकन रहेको फिल्मलाई मित्र डि. गुरुङ ले सम्पादन गरेका हुन्।

देशको प्रतिष्ठित व्यापारिक घराना गोल्छा समूह र प्रिज्मा समूह को साझेदारीमा रहेको बाइस्कोप सिनेमा प्रालि ले यस फिल्मको निर्माण गरेको हो। ठूलो व्यापारिक घरानाको लगानी भएकाले पनि यो फिल्म धेरैको प्रतीक्षाको विषय बनेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech