‘मन बिनाको धन’ को फर्स्टलुक सार्वजनिक

फिल्मी फण्डा। निर्माता तथा निर्देशक टंक बुढाथोकीको निर्माणमा बनेको चलचित्र ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा गायक अशोक दर्जीलाई विद्यार्थीको पोशाकमा प्रस्तुत गरिएको छ। पोस्टरमा उल्लेखित “जिरोदेखि हिरोसम्मको कथा” भन्ने ट्यागलाइनले फिल्म दर्जीको जीवनयात्रा उतारिएको संकेत गर्छ।

फिल्म आगामी कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। यसमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायत कलाकारले अभिनय गरेका छन्।

अशोक दर्जी पहिलोपटक गाएको गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट चर्चामा आएका थिए। टंक बुढाथोकीकै संगीतमा बनेको सो गीतले उनलाई एकै रातमा चर्चित बालगायक बनाएको थियो। त्यही लोकप्रियताको विस्तार चलचित्र ‘मन बिनाको धन’ मा देखाइने बताइएको छ। हाल दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

फिल्मको कथा निर्देशक टंक बुढाथोकीले आफैं लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन्। निर्माता विष्णु माया मैनाली, कार्यकारी निर्माता सपना शर्मा र सहनिर्माता जी.पी. संग्रोला, विवेक नेपाल तथा बिजया पाण्डे रहेका छन्।

फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्ने बताइएको छ। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech