फिल्म निर्देशक असिम शाह रास्वपाबाट बने समानुपातिक सांसद

फिल्मी फण्डा । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा शनिबार बुझाएको १३ जनाको सांसद सूचीमा शाह पनि समावेश छन् ।

asim shah.jpg

चलचित्र, विज्ञापन र संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने शाह समानुपातिकबाट सांसद बन्ने सम्भवतः एक्ला व्यक्ति हुन् । मुस्लिम समुदायतर्फबाट शाह सांसद छानिएका हुन् । उनले प्राइमरीमा पनि धेरै मत ल्याएका थिए ।

कांग्रेस, एमाले, माओवादीसहितका अन्य दलबाट बुझाइएको समानुपातिक सांसदको सूचीमा यस क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्ति समावेश छैनन् ।

निर्देशक शाहले फिल्म, कला र संगीत क्षेत्रको मुद्दालाई आफूले संसदमा प्रस्तुत गर्ने बताए । ‘मैले सक्दोरुपमा यस क्षेत्रको मुद्दालाई संसदमा प्रस्तुत गर्छु,’ उनले अनलाइनखबरसँग भने ।

शाह निर्देशित फिल्म ‘२ रुपैयाँ’ पाँचवर्षअघि रिलिज भएको थियो । घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको यो फिल्मले उनलाई फिल्म निर्देशकको रुपमा स्थापित गरेको थियो ।

शाहको फिल्म कम्पनी यतिबेला नयाँ फिल्म ‘डामाडोल’ निर्माणको तयारीमा छ । यो फिल्मलाई पनि उनले निर्देशन गर्ने तयारी गरिरहेका थिए । सांसद बनेपछि उनले फिल्म निर्देशनलाई निरन्तरता दिने वा नदिने टुंगो छैन ।

प्रत्यक्षतर्फ उम्मेदवार कलाकारिता क्षेत्रका कोही पनि  निर्वाचित भएनन् । समानुपातिकमा पनि कला क्षेत्रबाट नाम सिफारिस भए पनि अन्तिम सूचीमा ठूला दलले नाम छनोट गरेनन् ।
     
           
    
 
  
   

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech