फिल्मी फण्डा। निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु गरेका छन्। शनिबार काभ्रेपलाञ्चोको ढुंखर्क, बेथानचोकबाट फिल्मको छायांकन थालिएको हो। असार २६ गते गौरीघाटमा यसको शुभमुहूर्त गरिएको थियो।
कृष्णबहादुर थापा छायाकार रहेको फिल्म काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा समेत खिचिनेछ। क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित यस बायोपिकमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।
खगेन्द्र र सुरक्षा यसअघि ‘धनपति’मार्फत खनालसँग काम गरेका थिए। लामो समयपछि उनीहरू एकैपटक खनालको फिल्ममा देखिन लागेका हुन्।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको सहकार्यमा तयार हुन लागेको यस फिल्ममा खनाल स्वयं निर्मातामध्ये एक हुन्। करण श्रेष्ठ र श्रृष्टिमा खनाल सहनिर्माता तथा सिर्जना नापित कार्यकारी निर्मातामा छन्।
मुख्य सहायक निर्देशक सौगात बस्नेत रहेका फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन्। एकी थेक्पा प्रोडक्सन डिजाइर र रोहित राज गौतम तथा बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर हुन्।
छायांकनको सुरुवातसँगै खनालले ‘क्याप्टेन साब’लाई फरक खालको फिल्म हुने बताएका छन्। क्याप्टेन थापाको संस्मरणात्मक पुस्तक ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित भए पनि जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी प्रयोग गरेर पूर्ण मनोरञ्जनात्मक फिल्म बनाइने उनले बताए।