उपत्यकाव्यापी गायन प्रतियोगिता सम्पन्न 

फिल्मी फण्डा । एक भव्य कार्यक्रमका बिच चौथो 'स्व गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित टाइमलाइन विद्यालयले आफ्नै परिसरमा उपत्यकाव्यापी उक्त कार्यक्रम आयोजना गरेको हो । प्रत्येक वर्ष आयोजना गरिँदै आएको गायन प्रतियोगिता तथा स्रष्टा सम्मान यसपाली अग्रज कवि वेदमणिलाई सम्मान गर्दै र तीस विभिन्न ३० विद्यालयका प्रतिभाको गायन सुन्दै सम्पन्न भएको हो ।  

ल्याबोरेटरी मावि कीर्तिपुर, अक्सीडेन्टल स्कुल अनामनगर, ग्रीनतारा विद्यालय गोकर्णलगायत उपत्यकाका तीस विद्यालयको बिचको शब्द, स्वर र सङ्गीतको प्रतियोगिता रहेकामा ग्लोबल पब्लिक, रिलायन्स इन्टर्नेश्नल अनि सुनौलो भविष्यले एक-एक स्पर्धामा बाजी मारे भने गायनका उत्कृष्ट दशलाई विशेष सम्झना गरिएको थियो । कार्यक्रमका विशेष अतिथि तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालका बाहुलीबाट सम्बन्धित विजेतालाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागी विशेषलाई मायाको चिनोसमेत उपलब्ध गराइएको थियो । 

वरिष्ठ सङ्गीतकर्मी भुपेन्द्र रायमाझी, प्राज्ञ राधा राई अनि लेखक नारायण नेपालको स्पर्थागत निर्णायकको भूमिका रहेको उक्त कार्यक्रममा समाजका विविध क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्व, सहभागी विद्यालयका विद्यार्थी एवम् शिक्षक प्रतिनिधि अनि उल्लिखित फाउन्डेशनका सदस्यहरूको उपस्थिति उल्लेखनीय रहेको थियो । स्थानीय समाजसेवी स्वर्गीय गणेशप्रसाद रिजालको स्मृति दिवसको अवसर पारेर हरेक वर्ष आयोजना गर्नेगरिएको यस्तो कार्यक्रममा  उपयुक्त अन्य विधा पनि थप गर्दै लैजाने फाउन्डेसनका सभापति आरके रिजाल अनि विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालको भनाइ स्मरणीय छ !

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech