फिल्मी फण्डा । ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा २० करोड ग्रस नजिकको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार २६ दिनसम्मको कमाइ सार्वजनिक गरेको हो ।
२४ असोजको विहिबार फूलपातिमा रिलिज भएको दीपाश्री निरौला निर्देशित फिल्मले १९ कात्तिक, सोमबारसम्म १९ करोड ८१ लाख रुपैैयाँ ग्रस कमाइ गरेको हो ।
ब्यांकटेस इन्टरटेनमेन्ट प्रमुख मनोज राठीका अनुसार उक्त ग्रसलाई नेटमा रुपान्तरण गर्दा १६ करोड ७० लाख नेट कलेक्सन हुन आउँछ । यसबाट निर्मातालाई ८ करोड ३४ लाख सेयर आउने उनले जनाए ।
‘छक्कापञ्जा ५’को यो कूल कलेक्सनमा मोफसलको हिस्सा ५५ प्रतिशत र काठमाडौं उपत्यकाको ४५ प्रतिशत छ । दीपकराज गिरी स्टारर फिल्म अहिले पनि प्रदर्शनरत छ ।