फिल्मी फण्डा । मंसिर २० बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पुष्पा २’ यतिबेला चर्चामा छ । यो फिल्मलाई न्यूनतम ६ करोड ४० लाख रुपैयाँ मूल्यमा नेपालमा ल्याइएको छ । नेटफ्लिक्सले महंगो मूल्यमा यसको स्ट्रिमिङ राइट खरिद गरिसकेको छ ।
अल्लु अर्जुनले ‘पुष्पा २’ का लागि ३०० करोड भारु पारिश्रमिक लिएको बताइएको छ । पारिश्रमिकमा उनले अभिनेता थलापति विजयलाई पछाडि छाडेका छन् ।
योसँगै अल्लु भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन् । ट्रयाक टलिउडको एक रिपोर्टमा दाबी गरिएअनुसार भारतको राष्ट्रिय अवार्ड विजेता अल्लु अर्जुनले ‘पुष्पा’को भूमिकाका लागि ३०० करोड भारु लिएको बताइएको छ । फिल्मको पहिलो भाग सुपरहिट भएको थियो र कमाइको हिसाबले धेरै रेकर्ड बनाएको थियो ।
यो फिल्मको सफलतापछि अल्लु अर्जुनको ‘स्टार भ्यालु’मात्रै होइन, पारिश्रमिक पनि बढेको छ । अहिले सबैको नजर ‘पुष्पा २’ मा छ, जुन पहिलो भागभन्दा अझै वृहत रहेको निर्माताले बताएका छन् ।
रिपोर्टका अनुसार थलापति विजयले ‘थलापति ६९’ को लागि २७५ करोड भारु लिएका थिए । त्यसपछि थलापति विजय शाहरुख खानलाई पनि पछि छाड्दै भारतको सबैभन्दा धेरै कमाउने अभिनेता बने ।