‘जेरी अन टप’बाट तीन वर्षपछि फिल्म अभिनयमा भुवन केसीको कमब्याक 

फिल्मी फण्डा । अभिनेता भुवन केसीले फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन्  । सोमबारदेखि छायांकन सुरु हुन लागेको फिल्म ‘जेरी अन टप’बाट केसी अभिनयमा फर्किन लागेका हुन् ।

यस फिल्ममा उनी अनमोल केसीका पिताको भूमिकामा देखिंदैछन् । भुवनले पछिल्लो पटक सन् २०२१ मा रिलिज भएको फिल्म ‘डाँडाको वरपीपल’मा अभिनय गरेका थिए ।

‘जेरी अन टप’मा अनमोलकी आमाको भूमिकामा विपना थापाले अभिनय गर्दैछिन् । भुवन र विपनाले यसमा बाबुआमाको रोलमा जोडी बाँध्दैछन् । सन् २००६ मा रिलिज भएको फिल्म ‘मानिस’पछि भुवन र विपनाले जोडी बाँध्न लागेका हुन् ।

भुवन र विपना केही सातादेखि ‘जेरी अन टप’को कार्यशालामा सहभागी थिए । सुयोग गुरुङले निर्देशन गर्ने ‘जेरी अन टप’को छायांकन सोमबार ललितपुरको बंगलामुखी मन्दिरदेखि सुरु हुँदैछ ।

५० दिनको छायांकन तालिका राखिएको यो फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिंदैछ । फिल्ममा जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्माको समेत अभिनय हुनेछ ।

अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech