फिल्मी फण्डा। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक भएको छ। छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्दा फिल्मले हँसाउने र तर्साउने दुवै उद्देश्य बोकेको देखिन्छ ।
२ मिनेट ४२ सेकेण्ड लम्बाईको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ ।
‘जुलेबी’ फेम्ड निर्माता नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।
मनोज कुमार अधिकारी फिल्मका निर्माता हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए । नितिश पुन सह(निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।