फिल्मी फण्डा । सेभेन सिज प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म 'सारङ्गी' आउँदो १५ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माण टिमले प्रचार सामाग्रीलाई तिव्रता दिएको छ । फिल्मले यस अघि पोष्टर र टिजर सार्वजनिक गरिएको थियो भने बिहीवार ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मको मूख्य पात्र भनिएका मध्येका कलाकार प्रकाश सपुतको भने कार्यक्रममा उपस्थिती देखिएन । निर्माण पक्षले शुरुमा कलाकार सपुत बाटोमा आउँदै गरेको बताएपनि संचारकर्मीको प्रश्न पछि वास्तविकता बाहिर आएको छ । कलाकार प्रकाश सपुत हाल फिल्म 'बसन्त'को छायाँकनमा व्यस्त छन् । उनी फिल्म 'सारङ्गी'को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित नहुनुको कारण भने 'बसन्त'को छायाँकन मात्रै हैन । वास्तवमा कलाकार सपुत यतिखेर फिल्म 'सारङ्गी' टिमसँग बिच्किएका छन् । उनले फिल्म 'सारङ्गी'को कुनै पनि प्रचारमा सहभागी नहुने र प्रचार बहिस्कार गर्ने भएका छन् ।
सोही कारण कलाकार सपुत कार्यक्रममा उपस्थित भएनन् । निर्माण पक्षले कलाकार सपुतको विषयमा प्रश्न उठेपछि आफ्नो धारणा राख्ने क्रममा कलाकार सपुत सम्पर्कमा नरहेको जानकारी दिएका छन् । यसको कारण थियो, फिल्म 'सारङ्गी'को प्रदर्शन । कलाकार प्रकाश सपुतले आफ्नो अभिनय र निर्देशन रहने फिल्म 'बसन्त'को प्रदर्शन पछि मात्रै फिल्म 'सारङ्गी'को प्रदर्शन गर्ने गरि सम्झौता गरेका थिए ।
'सारङ्गी' निर्माण टिमले भने बजेट ठूलो हुँदै गएको र तयार भएको फिल्म थप १ बर्ष कुर्न नसक्ने भन्दै प्रकाशसँग विना छलफल प्रदर्शन मिति तय गरिएपछि प्रकाश फिल्मबाट टाढिएका हुन् । 'सारङ्गी' कै प्रदर्शन मिति आसपास पारेर कलाकार प्रकाश सपुतले फिल्म 'बसन्त'को छायाँकन राखेका हुन् । फिल्म निर्माण टिमले आफ्नो सम्झौता अनुसार प्रतिवद्धता पुरा नगरेपछि कलाकार प्रकाश सपुत 'सारङ्गी' टिमसँग टाढिएका हुन् ।
यता फिल्मका निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले भने आफुले अभिनय गरेको फिल्मको प्रचार प्रसारलाई वाहेस गर्नु कलाकार प्रकाश सपुतको लागि घाटा हुने भन्दै नैतिकताको प्रश्न रहेको बताएका छन् । फिल्म निर्माण देखि तयारसम्म पुग्दा फिल्मको बजेट र प्राजेक्ट ठूलो भएपछि तत्काल प्रदर्शन गर्नुपरेको भन्दै निर्माता पौडेलले फिल्मको प्रचार प्रसारमा कलाकार प्रकाश सपुत आउनुपर्ने भएता पनि सम्पर्कमा नरहेको बताएका हुन् ।
फिल्म 'सारङ्गी'मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराईली, भोला सापकोटा, विनोद न्यौपानेलगायतको मूख्य भूमिका रहेको छ । मोडल अलिसा बाँस्कोटाले फिल्म 'सारङ्गी'बाट डेब्यु गर्दैछिन् । सेभेन सिजसँगै फिल्मको निर्माणमा बाँसुरी फिल्मस्ले पनि सहकार्य गरेको छ । फिल्मको अन्य निर्मातामा प्याट्रिक सुवेदी जोडिएका छन् । यस्तै कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । सेभेन सिजले पछिल्लो समय देश बाहिर विभिन्न देशमा नेपाली फिल्म वितरण र प्रदर्शन गर्दै आईरहेको छ ।