हलहरुलाई बालेनको निर्देशन, मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा चाहियो

फिल्मी फण्डा । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन पत्र पठाएको छ । मेयर बालेन शाहले निर्देशन दिँदै त्यसको अनुगमन गर्न समेत समिति बनाएको छ ।

दक्षिण भारतीय फिल्म आदिपुरुषमा नेपालवारे भ्रम फैलाइएको संवाद राखेको भन्दै काठमाडौं महानगरभित्र भारतीय फिल्म चल्न नदिने मेयर बालेन शाहको घोषणा पछि कल संचालकहरुको छाता संस्था नेपाल चलचित्र संघ बालेन विरुद्ध अदालत पुगेका थिए । अदालतले भारतीय फिल्म चल्नदिन स्टे अर्डर दिएपछि बालेन हलप्रति चिढिँएका हुन् । 

त्यसपछि हलहरुलाई स्थानीय सरकारको तर्फबाट उठाइने मनोरञ्जन करलाई कडाई गर्ने निणर्यसहित नयाँ योजनामा लागेका हुन् । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र महानगरपालिकालाई पनि पहुँच दिन महानगरले पत्र मार्फत हलहरुलाई भनेको हो ।

मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिनभित्र त्यसमा महानगरलाई पनि पहुँच दिन भनिएको छ । यस्तै  डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाहरुले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा महानगरको राजस्व विभागलाई पहुँच दिलाउन पत्रमा भनिएको छ ।

बालाजुस्थित अष्टनारायण, कलंकी सिनेमा, गोंगबुको सार्थक इन्टरटेनमेन्ट, चावहिल चुच्चेपाटीको केएल सिटी सिनेमा, नयाँ बानेश्वरको कोर प्लान बिल्डर्स, चावहिलको गोपीकृष्ण मुभिज, कालिमाटीको ओकुलर होल्डिङ्स, दरबारमार्गको दरबार सिनेम्याक्स, न्युरोडको रञ्जना सिनेप्लेक्स, सुन्धाराको सेन्ट्रल सिनेमाज, सुन्धाराकै सिने द सेफ, जमलको विश्वज्योति, कमलादीको सिनेमार्क मुभिज, कमलपोखरीको सिनेस्टार, ठमेलको छाया सिनेमाज्, गोंगबुको ल्होत्से सिनेमा लगायतलाई महानगरले पत्र काटेको हो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech