फिल्मी फण्डा । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरेका हुन् ।
‘बिहान उठ्ने बित्तिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन् जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए ।
गायक ढकालले यस पटकको दसैँ अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्युक्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली सङ्गीतलाई विश्वभर चिनाउन गरेको योगदान र सङ्गीतमा दिएको निरन्तरताको कदर गर्दै आयोजक श्रेष्ठ, ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।