प्रकाश सपुतको लेखन,निर्देशन  तथा अभिनय रहेको फिल्म  ‘वसन्त’को बागलुङबाट छायांकन सुरु

फिल्मी फण्डा। गायक तथा अभिनेता प्रकाश सपुतले शनिबारदेखि गृहजिल्ला बागलुङबाट डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन थालेका छन् । छायांकनअघि कालिका मन्दिरमा शुभसाइत पूजा गरियो ।

सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, अन्य कलाकार र प्राविधिक, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ लगायतले मुहूर्त पूजामा भाग लिए । सपुतकै जन्मथलो धम्जा गाउँसहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायांकन चल्नेछ ।

दशैंतिहारको बीचमा राजधानी काठमाडौं र तराईका विभिन्न लोकेसनमा छायांकनको तयारी छ । 

फिल्ममा स्वस्तिमा र प्रकाशसहित प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको अभिनय हुनेछ । अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको समेत यसमा अभिनय हुनेछ ।

यो सोसल ड्रामा फिल्ममा निर्देशनसहित पटकथा र संगीत पनि सपुतकै हुनेछ । गलबन्दी प्रोडक्सनले निर्माण गर्ने यो फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । यो फिल्मको बजेट तीन करोड रुपैयाँ हुने चलचित्र विकास बोर्डको दर्ता विवरणमा उल्लेख छ । फिल्मको प्रदर्शन मिति आगामी चैत २२ गतेलाई तय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech