चलचित्र विकास बोर्डले गर्यो आगामी सार्क फिल्म फेस्टिभलका लागि फिल्म आह्वान

फिल्मी फण्डा। चलचित्र विकास बोर्डले आगामी सार्क फिल्म फेस्टिभलका लागि फिल्म आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै बढीमा ६ वटा फिल्म त्यसतर्फ पठाउन लागिएको जनाएको छ ।

इच्छुक फिल्म निर्माताले सहभागी हुने प्रतिनिधिको नामसहित बोर्डमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसका लागि केही मापदण्ड तोकिएका छन् ।

२०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म सार्वजनिक प्रदर्शनमा आएका कथानक फिल्म, बढीमा ३० मिनेटसम्मका छोटा फिल्म, बढीमा ४५ मिनेटसम्मका डकुमेन्ट्री फिल्म, २०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म स्ट्रिमिङ भएका वेब–सर्ट फिल्म, बोर्डको विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत तथा राष्ट्रिय फिल्म हुनुपर्ने सर्त राखिएको छ ।

साथै, यस वर्षको सार्क फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म ‘बुलबुल’ र ‘प्रसाद’को स्क्रिनिङ गरिने भएको श्रीलंकास्थित सार्क सांस्कृतिक केन्द्रले जनाएको छ । यी दुई फिल्म ११ सेप्टेम्बर श्रीलंकाको जाफ्ना कल्चरल सेन्टरमा देखाइनेछ । तर यी दुई फिल्म प्रतिस्पर्धामा समावेश हुनेछैनन् ।

यस वर्षको सार्क फिल्म फेस्टिभल सेप्टेम्बर २४ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । साथै, आगामी ६ महिनाको लागि नेपाली पर्यटकले श्रीलंका भ्रमण गर्दा भिसा आवश्यक नपर्ने घोषणा श्रीलंका सरकारले गरिसकेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech