फिल्मी फण्डा । चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डिसीले बनेपामा प्रस्तावित फिल्म छायांकन स्टुडियोको अवलोकन गरेका छन् । शुक्रबार बिहान बोर्ड अध्यक्ष दिनेश डिसी, सदस्य सचिव राजेशकुमार थापा, बनेपा नगरपालिका १० र १३ का वडाध्यक्षहरु र स्थानीय प्रतिनिधिले स्टुडियो निर्माण हुने थलोको अवलोकन भ्रमण गरेका हुन् ।
भ्रमणपछि अध्यक्ष डिसीले सन् २०२६ भित्रै निर्माण पूरा गर्ने लक्ष्य रहेको बताए । यसका लागि सात दिनभित्र चारकिल्ला तोक्ने बोर्डको तयारी छ ।
असार २८ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।
फिल्म स्टुडियोको निर्माण लागत ३९ करोड रुपैयाँ बताइएको छ । तिहारअघि नै बोलपत्र आह्वान गरिने र सन् २०२४ भित्र शिलान्यास गर्ने योजनामा चलचित्र विकास बोर्ड छ ।