ग्रामिण चलचित्र महोत्सबमा मास्टर क्लास हुने

फिल्मी फण्डा । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार जेठ २५ देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ । 

काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा तेस्रो दिन शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । ग्रामीण फिल्मको विषयमा उनीहरूको ‘मास्टर क्लास’  हुने भएको हो ।


उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन् । आयोजकले आगामी बिहीवार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ । ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’,ुनिरमायाुसँगै तामाङ र गुरुङ फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछ ।

साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जनाइएको छ ।  स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।

काठमाडौंबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् ।  चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो ।  गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा महोत्सव आयोजना गरिएको थियो ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech