फिल्मी फण्डा । नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक बिज्ञप्ती जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । प्रतियोगीता न्युलुक ब्युटिफर लाइफले प्रायोजन गरेको कारण प्रतियोगीताको नामको अगाडि न्युलुक राखिएको हो ।
नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तिमा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको अडिसन बैशाख २९ गते दमकबाट सुरु हुनेछ । त्यसपछि ३० गते बिराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडांैमा आयोजना हुनेछ ।
आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।