फिल्मी फण्डा । फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघले आईतवार पहिलो पटक नीति तथा परामर्श भेला धुलिखेलमा सम्पन्न गरेको छ । संघले आफ्नो बार्षिक कार्ययोजना तथा गर्न र नयाँ कार्यक्रम तथा नीति तय गर्न पहिलो पटक नीति तथा परामर्श भेला आयोजना गरेको हो ।

केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी, शाखा अध्यक्षहरु र विभिन्न बिभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा भेला सम्पन्न गरेको हो । चलचित्र पत्रकारहरुको अवस्था, समस्या र चूनौती माथी छलफल गर्दै नीति तथा कार्यक्रम लक्षित गरेर संघले सो भेला आयोजना गरेको संघका अध्यक्ष समीर बलामीले बताए ।
भेलामा उपस्थित संघका पूर्व अध्यक्ष विदुर गिरी, शान्तिप्रिय, निवर्तमान अध्यक्ष दिनेश सिटौंला, संस्थापक कोषाध्यक्ष सुब्रत आचार्यलगायतले आफ्नो धारणा राख्दै पत्रकारमूखी कार्यक्रमलाई बढवा दिन सुझाव दिएका थिए ।
यस्तै संघले सो कार्यक्रम अघि चौथौं पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गर्दै निर्णयहरु गरेको र सो निर्णयको वारेमा चाँडै नै पत्रकार भेटघाट गरि जानकारी दिने संघका महासचिव रघुनाथ सापकोटाले बताए । संघको बैठक र भेलाले १२ बुँदे धुलिखेल घोषणा पत्र पनि जारी गरेको छ ।
चलचित्र पत्रकार संघ नेपालको २०७९ चैत १८ र १९ गते धुलिखेलमा सम्पन्न चौथौं पूर्ण बैठक र नीति तथा परामर्श भेलाले जारी गरेको १२ बुँदे धुलिखेल घोषणा पत्र
१. संघीय र प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ उपलब्ध गराउन यो बैठक सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।
२. सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति तत्काल कार्यान्वायन गर्न यो बैठक जोडदार माग गर्दछ । साथै, चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना माग गर्दछ।
३. श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्दछ।
४. विज्ञापन बोर्डले प्रदान गरिने समानुपातिक विज्ञापन प्रणाली कार्यान्वायनमा फितलो रहेको र पहुँच भएकाले मात्र पाउँदै आएकाले समावेशी रूपमा साना तथा मझौला मिडिया र स्वरोजगारमुखी मिडियालाई पनि वितरण गर्न यो बैठक माग गर्दछ । साथै कला, चलचित्र तथा मनोरञ्जन विधा केन्द्रित मिडियालाई पनि समावेशी प्रणालीमा विज्ञापन वितरण गर्न यो बैठक जोडदार माग गर्दछ ।
५. नेपाली चलचित्रलाई बजार प्रवर्धन गर्दै अन्तर्राष्ट्रियकरणका लागि चलचित्रसँग सम्बन्धित संघसंस्था, चलचित्र विकास बोर्ड र सम्बन्धित सरकारी निकायले चलचित्र पत्रकारसँग समन्वय र सहकार्य गरि कार्यक्रम व्यवस्थापन गर्न यो बैठक जोडदार माग गर्दछ ।
६. चलचित्र पत्रकारलाई दक्ष बनाउन पत्रकारमुखि विविध कार्याशाला तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नका लागि संंघीय सरकार, प्रदेश सरकार, चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघसँग यो बैठक जोडदार माग गर्दछ।
७. नेपाल सरकार एवं चलचित्र विकास बोर्ड र प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तथा सम्मानमा चलचित्र पत्रकारलाई पनि समावेश गर्न यो बैठक जोडदार माग गर्दछ ।
८. चलचित्रसँग सम्बन्धित संघ संस्था तथा सरकारी निकायबाट हुने गरेका चलचित्रसम्बन्धी अनुगमन, मुल्यांकन तथा विदेश भ्रमण÷अवलोकनजस्ता कार्यक्रममा चलचित्र पत्रकारलाई अनिवार्य सहभागि गराउन यो बैठक जोडदार माग गर्दछ।
९. चलचित्र पात्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्थाका लागि संघिय सरकार र प्रदेश सकारसँग यो बैठक माग गर्दछ ।
१०. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल सरकार तथा सम्बद्ध निकायसँग माग गर्दछ।
११. नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धी र बजार व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले तयार गरेको चलचित्र नीति तथा कार्यक्रमलाई यथाशक्य कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा संघिय सरकारसँग जोडदार माग गर्दछ ।
१२. नेपाली चलचित्रसँग सम्बन्धित पेसागत तथा व्यावसायिक संघसंस्था र चलचित्र पत्रकार संघ नेपालको आपसि सहकार्य र समन्वयका लागि यो बैठक माग गर्दछ ।