‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार’ राष्ट्रपति पौडेलद्वारा प्रदान

फिल्मी फण्डा । ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ प्रदान गरिएको छ । सोमबार नातिकाजी स्मृति समाजले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९औँ जन्म जयन्तीको अवसर पारेर केही दिनअघि सम्मान तथा पुरस्कार घोषणा भएको थियो ।

कार्यक्रममा यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापाले प्राप्त गरे । त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटीले प्राप्त गरे ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रले प्राप्त गरे । सोही अवसमा ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई दिइयो भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रियले प्राप्त गरे ।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली समाजको विविधलाई गीतसंगीतले एक ढिक्का बनाउने काम गरेको बताए । विविध जाती, उनीहरुको भाषा, गीतसंगीतको एकतानै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको उनको भनाई थियो । 

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले नातिकाजीको मात्र नभएर स्वर्गीय सम्पूर्ण स्रष्टाको नामबाट पनि पुरस्कार स्थापना गर्नु बताए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech