टम हल्याण्डको मुख्य भूमिकामा ‘स्पाइडरम्यान ४’ आउँदै 

फिल्मी फण्डा । मार्वल स्टुडियोको विश्वचर्चित फिल्म ‘स्पाइडरम्यान’को  चौथो श्रृंखला बन्ने भएको छ । निर्माता एमी पास्कलले सन् २०२३ को मे महिनामा स्पाइडरम्यानको नयाँ श्रृंखला अपरिहार्य भएको बताएका थिए । अभिनेता हल्याण्डले नयाँ श्रृंखला अझै प्रारम्भिक चरणमा रहेको बताएका थिए ।

यस्तोमा मार्वल सिनेम्याटिक युनिभर्सका प्रमुख केभिन फेगले ‘स्पाइडरम्यान ४’ बारे नयाँ खबर बाहिर ल्याएका हुन् । मार्वल फिल्मसँगको एक अन्तर्वार्तामा उनले आफूहरुसँग चौथो श्रृंखलाको कथावस्तु रहेको बताए । उनले भने, ‘हाम्रा लेखकले केही समयदेखि आफ्ना विचारलाई कागजमा उतार्न थालेका छन् ।’

जनवरी २०२४ सम्म स्पाइडरम्यानको नयाँ श्रृंखला कहिले बन्छ भन्ने कुरा यकिन त भइसकेको छैन । तर उनले सन् २०२४ कै जुलाईतर्फ ईशारा गरेका छन् । हलिउडमा चलेको लामो हड्तालका कारण फिल्मको निर्माण प्रभावित भएको थियो । मार्वल स्टुडियोका केही फिल्मको निर्माण नै रोकिएको थियो ।

सोनी र मार्वल स्टुडियोबीच हालै भएको कुराकानीअनुसार सन् २०२४ भित्रै फिल्मको निर्माण सकिने जनाइएको छ । अहिलेसम्म आएका सबै ‘स्पाइडरम्यान’ फ्रेन्चाइजीमा स्पाइडरम्यानको भूमिका चित्रण गरेका कलाकारलाई निकै मन पराइएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने टम हल्याण्डलाई ‘स्पाइडरम्यान ४’ मा देख्न सकिन्छ । जेन्डाया र ज्याकोब बाटालोन पनि यसमा देखिनेछन् ।

स्पाइडरम्यानको तीनवटा श्रृंखलामा टम हल्याण्डले दमदार अभिनय गरेका छन् । उनी ‘स्पाइडरम्यानः होम कमिङ’, ‘स्पाइडरम्यान स् नो वे होम’ र ‘स्पाइडरम्यान स् फार फ्रम होम’मा देखा परेका छन् र दर्शकले निकै रुचाएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech