फिल्मी फण्डा । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान १२ वर्षपछि पुनः दर्शकमाझ एकसाथ आउने भएका छन् । पछिल्लो पटक यो जोडी सन् २०१२ मा ‘एजेन्ट विनोद’मा देखिएका थिए ।
टाटा प्लेको शो ‘नाउ बिगिनिङ’को बेला उनीहरूले एक शोमा आफूहरू सँगै देखिन लागेको जानकारी दिएका हुन् । करीना र सैफले यसअघि ‘टसन’, ‘कुर्बान’ र ‘एजेन्ट विनोद’मा सँगै काम गरेका थिए । उनीहरूले रोडसाइड रोमियामा स्वर पनि दिएका थिए । यद्यपि उनीहरु एक दशकभन्दा बढी समय पर्दामा सँगै देखिएनन् ।
‘पहिला उनी भन्थे ‘हुँदैन, यो काम गर्दिनँ । यसमा कुनै चासो छैन र हामी एकसाथ काम गर्नुहुँदैन’ । सायद यही कारणले ‘टसन’ र ‘एजेन्ट विनोद’ले राम्रो व्यापार गरेन । तर एक राम्रो फिल्म भयो भने मानिसहरूले हामीलाई सँगै हेर्न चाहेका छन् भन्ने मेरो बुझाई हो’, करीनाले भनेकी छन् ।
सैफले पनि करीनासँगको सहकार्यको बारे मुख खोलेका छन् । ‘हामी वास्तवमै केही चिजमा काम गरिरहेका छौँ र केही यस्तो ल्याउने प्रयास गरिरहेका छौँ । जसले यो कुराको ध्यान दिनेछ कि हामी विवाहित हौँ र यो नाटक यो कुराको थोरै विरोधी छ । त्यसकारण यो काम अहिले प्रगतिमै छ’, सैफले भनेका छन् ।