सकियो चलचित्र पत्रकार संघ कास्कीले पर्यटकीय गाउँ सिक्लेसमा गरेको सिनेमा संवाद कार्यक्रम

फिल्मी फण्डा । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले पर्यटकीय गाउँ सिक्लेसमा गरेको सिनेमा संवाद कार्यक्रमको समापन भएको छ । कार्यक्रममा एक दर्जन बढी कलाकार र ६० बढी पत्रकारसँगै सिक्लेस गाउँबासीको सहभागी थियो ।

पहिलो सेसन ‘सरकार र सिनेमाः हिजो, आज र भोलि’ विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक आकाश अधिकारी र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलासँग पत्रकार प्रकाश सुवेदीले बहस गरे ।


चलचित्र विकास बोर्ड हराएकाले खोज्न आफू अध्यक्ष बनेको भन्दै केसीले काम गर्न नसके राजीनामा दिने पनि बताए । सहजकर्ता प्रकाश सुवेदीले ६ महिनाभित्र काम गर्न नसके राजीनामा दिने भनेको कुरा सम्झाउँदै साइत हेराएर घुम्ने कुर्सीमा बसेपछि कुनै काम गर्न नसकेर असफल बनेको भन्दै झटारो हानेका थिए ।

केसीले भने – ‘चलचित्र विकास बोर्ड हराएकाले खोज्न म अध्यक्ष बनेको हुँ। बोर्ड सञ्चार मन्त्रालयमा हराएको छ, काम गर्न सकिन भने, बोर्डलाई स्वायत्त बनाउन सक्ने अरु कोहि आउँछन् भने उसलाई कुर्सीमा राख्न प्रयास गर्छु।’

चलचित्र विकास बोर्डले नयाँ ऐनको प्रस्तावना बनाएर सरकारलाई बुझाउने तयारी गरिरहेको अध्यक्ष केसीले बताए।

‘हामीले सबैसँग छलफल गरेर नयाँ ऐनको प्रस्ताव सरकारलाई बुझाउने तयारीमा छौं,’ उनले भने, ‘बोर्डलाई स्वायत्त बनाउने गरी नयाँ ऐन जारी गर्न अहिलेको सञ्चार मन्त्री रेखा शर्मा पनि सकारात्मक हुनुहुन्छ।’

निर्देशक आकाश अधिकारीले चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्न र नयाँ चलचित्र ऐन जारी गर्न आफूहरूले मेहेनत गरे पनि सरकारले चासो नदिएको बताए।

नयाँ ऐनको प्रस्तावना तयार गरेर सरकारलाई पठाउँदा कर्मचारीतन्त्रले हेरफेर गरेर २०२६ सालमा आएको ऐन भन्दा पनि खराब व्यवस्था राखेको उनले बताए।

अभिनेत्री एवं निर्देशक निरौलाले नेपाली सिनेमालाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको बताइन्।

‘सरकारले सिनेमालाई कहिल्यै पनि प्राथमिकता दिएन, हामी सबै एकजुट भएर सरकारलाई दबाब दिन सकिन्छ,’ उनले भनिन्, ‘बोर्डका अध्यक्ष भुवन केसी सरकारलाई दबाब दिन अघि बढे साथ दिन हामी तयार छौं।’

अभिनेत्री एवं निर्देशक निरौलाले चलचित्र विकास बोर्डले कथा, पटकथा, निर्देशन लगायतका विषयमा तालिमहरू चलाउनुपर्नेमा जोड दिइन्। बोर्डले अवार्ड दिने काम बन्द गर्नुपर्ने उनको माग छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech